दफा ४३७
बन्धकी लिएको सम्पत्ति भोगचलन गर्नु पर्ने

(१) साहूले भोग बन्धकीको रूपमा लिएको सम्पत्ति त्यस सम्बन्धी लिखत भएको मिति वा लिखतमा छुट्टै मिति तय भएकोमा त्यसरी तय भएको मितिबाट र दृष्टिबन्धकीमा लिएको सम्पत्ति असामीले ऋण तिर्नु पर्ने भाखा नाघेको मितिले दुई वर्षभित्र भोगचलन गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको अवधिभित्र कुनै कारणवश साहूले त्यस्तो सम्पत्ति भोगचलन गर्न नसक्ने भएमा वा असामीले कुनैकिसिमले भोगचलन गर्न नदिएमा त्यस्तो सम्पत्ति भोगचलनको लागि चलन चलाई पाउन कानून बमोजिम नालिस गर्न सक्नेछ ।
(३) उपदफा (१) बमोजिम साहूले भोगचलन नगरेकोमा वा उपदफा (२) बमोजिम भोगचलनको लागि चलन चलाई पाउन नालिस नगरेकोमा त्यस्तो बन्धकी स्वतः निष्क्रिय हुनेछ ।
(४) उपदफा (३) बमोजिम बन्धकीको लिखत निष्क्रिय भएमा त्यस सम्बन्धी लिखत कपाली सरह हुनेछ ।